रोकिएन सेयर बजारमा पहिरो, उद्धारका लागि तम्सिएन नियामक निकाय

भक्तपुर न्यूज

९ मंसिर २०७३ ११:३९

रोकिएन सेयर बजारमा पहिरो, उद्धारका लागि तम्सिएन नियामक निकाय

काठमाडौ., ९ मंसिर । पछिल्ला झण्डै दुई सातादेखि शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । १८८१ अंकको ऐतिहाँसिक विन्दुबाट ओरालो लागेको बजार अहिले १५ सयको विन्दुमा आइपुग्दा पनि रोकिन सकेको छैन । जसले गर्दा अहिले लगानी कर्तामा एककिसिमको निराशा देखिएको छ । ब्याजदरमा वृद्धि, भारतीय नोटमा लागेको प्रतिबन्ध लगायतका कारण देखाइएतापनि बजार यसरी ओरालो लाग्नुपर्ने कारण नभएको विश्लेषकहरु बताउँछन् ।
हल्लैहल्लाका कारण बजार घट्दा पनि नियामक निकाय भने मौन देखिएको छ । सप्लाईमा केही वृद्धि भएपनि बजार घट्नुपर्ने कारण नभएको विश्लेषककको भनाई छ । तर कतिपय भने ठुला खेलाडीहरुले आगामी आर्थिक वर्षको बोनस र राइटका लागि लगानी गर्न बजार घटाउन अफवाह फैलाइरहेको भन्ने तर्क पनि गरिँदै आएको छ । बजार बढेपछि लगानीकर्ताले नाफा बुक गर्दा केही घट्नु स्वभाविक भएपनि यसरी तिब्र गिरावट आउनुलाई अस्वभाविक मानिएको छ ।
यो साताको पहिलो दिनबाटै ओरालो लाग्न शूरु गरेको शेयर बजार सोमबार त आधा घण्टा सर्किट ब्रेक नै लागेको थियो । सोमबार ८० अंक सम्म घटेको शेयर बजार कारोबार बन्द हुनेबेला सम्म ५८ अंकमा झरेको थियो । मंगलबार २३ दशमलव ८२ अंकले घटेर १५ सय दशमलव ४७ मा पुगेर कारोवार बन्द भयो । बुधबार त केही सुधार आउला की भनेर कुरेर बसेका लगानी कर्तालाई सो दिन पनि शेयर बजारले निराशा बनायो । बुधबार ४२ दशमलव ४६ अंकले गिरावट आयो । शेयरबजार कारोबार हुने साताको अन्तिम दिन बिहिबार उतार चढावका विच शेयर बजार ६ अंकले घटेको छ । २३ अंकसम्मले ओरालो लागेको नेप्सेले अन्त्यमा ५ ।९८ अंकको क्षति ब्यहोरेर १५३४।०३ मा बन्द भयो । आज ९९ करोडको शेयर किनबेच भएको छ ।
निरन्तर शेयर बजार ओरालो लाग्दा पनि नियामक निकाय धितोपत्र बोर्ड भने मौन देखिएको छ । बजार बढ्दा बजार धेरै माथि गयो भन्ने नियामक निकायले शेयर बजार तिब्र घट्दा भने खासै ध्यान दिएको छैन । हुनत नेप्से कति अंकले घट्यो भन्दा पनि लगानीकर्ताले किनेको शेयर कुन कम्पनीको हो र सो कम्पनीमा शेयर मुल्य कति छ भन्ने कुराको पनि ख्याल राख्नु जरुरी हुन्छ । तर यहाँ लगानीकर्ता निराश हुने भन्दा पनि शेयर किन्ने बेला नै ध्यान दिनु जरुरी छ ।
शेयर बजारमा भारी गिरावट आउँदा पनि राम्रा कम्पनीको प्रतिफल राम्रै हुने हुँदा खासै फरक पर्दैन । यस्तो बेलामा लगानीकर्ता निरूत्साहित भएर हतारमा बेच्दा आफ्नै शेयरको भाउ घटिरहेको छ । तसर्थ हल्लाका पछाडि नलागी कम्पनीको वास्तविक वित्तिय अवस्था पत्ता लगाइ राम्रो कम्पनीमा लगानी गर्नु नै सबैभन्दा उत्तम हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *