काठमाडौं । चीनमा फैलिएको वुहान कोरोनोभाइरसको प्रकोपलाई रोक्नको लागि चीनले युद्धस्तरमा लागिपरिरहँदा सोही संक्रमणका कारण मर्नेहरुको संख्या बढेर ८१ पुगेको छ । चिनियाँ अधिकारीहरुले सोमबार दिएका जानकारीअनुसार चीनभरिमा जम्मा २७४४ जनामा संक्रमण फेला परेको छ ।
कोरोनोभाइरसको सबैभन्दा ठूलो प्रकोप त्यसको उद्गमस्थल मानिएको वुहानमै भएको छ । चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पछिल्लो पटक २४ जना मरिसकेका छन् भने वुहानमा देखापरेको संक्रमणको गतिलाई रोक्न र सुस्त तुल्याउन पूरै क्षेत्रलाई ‘बन्द’ गरेका छन् । त्यहाँ जान र त्यहाँबाट बाहिर निस्कन निषेध गरिएको छ र त्यहाँका वासिन्दाहरुलाई घरभित्रै बस्न उर्दी नै जारी गरिएको छ ।
चीनका जनताका लागि सबैभन्दा दुर्भाग्यपूर्ण कुरा चाहिँ के भएको छ भने यो खतरनाक भाइरसको महामारी त्यो बेला देखापरेको छ, जुनबेला चिनियाँ जनताहरु नयाँ वर्ष मनाउने तयारी गरिरहेका थिए । अहिलेसम्म प्राप्त जानकारीअनुसार वुहान भाइरसको पहिलो शिकार ८० वर्षीया महिला भएकी थिइन् ।
चीनमा देखापरेको वुहान भाइरस चिनियाँ अधिकारीहरुको कडा प्रयत्नका बाबजूद चीनका अन्य शहरहरुमा पनि देखापर्दै गएको छ । चीनका स्वायत्त प्रदेशहरु मकाउ र हंगकंगमा पनि यसको संक्रमण देखिएको छ । त्यसैगरी, थाइल्याण्ड, ताइवान, जापान, अमेरिका, भियतनाम, सिंगापुर, मलेशिया, नेपाल, फ्रान्स, क्यानडा र अस्ट्रेलियामा पनि यो भाइरसको संक्रमणमा परेका रोगीहरु फाट्टफुट्ट देखापर्न थालिसकेका छन् । अमेरिकामा नै पनि वासिंगटन, सिकागो, दक्षिण क्यालिफोर्निया र एरिजोनामा वुहान कोरोनोभाइरसका संक्रमित भेटिएका छन् ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
Comments