अस्पतालमा फोहर व्यवस्थापन नहुँदा बिरामीलाई थप कष्ट
झापा (भद्रपुर)। प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने योजनामा रहेको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा नियमित सरसफाइ नहुँदा बिरामी दुर्गन्धित वातावरणमा रहेर सेवा लिन बाध्य छन्। अस्पताल प्रशासनले वार्षिक रूपमा टेन्डर आह्वान गर्दै सरसफाइको ठेक्का लगाए पनि ठेकेदारसहित तलबमा राखेका स्थायी कर्मचारीले समेत नियमित सरसफाइमा चासो नदेखाउँदा अस्पतालमा फोहोर-मैला थुप्रिन थालेको हो।
अस्पताल परिसरभित्र जथाभावी पानीका बोतल फ्याक्ने, गुट्खा खाएर थुक्ने, सफाइ नगर्नु, बगैंचाका बोटबिरुवा नकाट्नु, शौचालय सफाइ नगर्नु, बिरामी बस्ने शय्या तथा कक्षमा सरसफाइ नहुनु, धाराको पानी कोठामै चुहिनु, कोठाभित्रै भुस्याहा कुकुर पस्नेजस्ता समस्याहरू रहेको बिरामीहरु कुरुवाहरुको गुनासो छ।
अस्पतालले नियमित सरसफाइका लागि सातजना स्थानीय कर्मचारी राखेको छ। साथै‚ ठेकेदारले समेत १६ जना कर्मचारी सरसफाइका लागि खटाएको छ। तर, ती कर्मचारीले अस्पतालको सरसफाइमा खासै चासो नदेखाइ मासिक तलब मात्र बुझ्ने गरेकाले अस्पताल परिसर दुर्गन्धित र कुरूप बन्दै गइरहेको छ। नियमित सरसफाइ छैन ‘बिरामी बस्ने कोठामा नियमित सरसफाइ नै हुँदैन।
हुँदा पनि बाहिर-बाहिर मात्र सरसफाइ गरेर कर्मचारी जान्छन्’, बिरामीका आफन्त शोभा भण्डारीले भनिन्, ‘बच्चा राख्ने कोठा त सफा हुनु पर्यो नि ?’
कर्मचारीले राम्ररी कपडाले कोठा पनि नपुछ्ने‚ बिरामीको बेडमुनिको फोहोर जस्ताको त्यस्तै छाड्ने गरेको उनको गुनासो छ। बिरामी राख्ने वार्डमा शौचालयको दुर्गन्धले एकछिन पनि बस्न नसकिने भद्रपुरकी लिजा पोखरेलले गुनासो पोखिन्। ‘ बेडको बिजुली स्विच र प्लग पनि बिग्रिएको छ’, उनले भनिन्, ‘पानी तताउनु पर्यो भने बाहिर जानुपर्छ। अस्पताल जस्तो ठाउँमा यस्तो पनि हुन्छ ?’
बिरामीका शय्यासम्मै कुकुर मान्छेको उपचार हुने अस्पताल नै पशु अस्पताल सरह बन्न थालेको बिरामीहरू बताउँछन्। आकस्मिक कक्षदेखि बिरामी बस्ने वार्डसम्म भुस्याहा कुकुर पस्दा पनि अस्पतालमा खटिएका सुरक्षा गार्ड र प्रशासन बेखबर रहने गरेका छन्।
‘अस्पतालको वार्डभित्रै कुकुर आउने सुनेको थिएँ’, बिरामी इन्द्रबहादुर विश्वकर्माले भने, ‘ एकदिन त राति १२ बजे बिरामी सुतेकै वार्डमा दुईवटा भुस्याहा कुकुर आएका थिए। कुकुर कुरुवाले खेदाए।’
यसअघि पनि अस्पतालको आकस्मिक कक्षमा भुस्याहा कुकुर छिरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर अस्पताल प्रशासनले त्यसलाई यस्ता घटनामा त्यति चासो राखेको देखिँदैन।
प्रकाशित मितिः २०७६ पौष २ बुधबार