काठमाडौंको बसुन्धरामा खुल्यो नेचुरोपेथी अस्पताल

भक्तपुर न्यूज

१६ मंसिर २०७६ ६:५६

काठमाडौंको बसुन्धरामा खुल्यो नेचुरोपेथी अस्पताल

काठमाडौं ।  अत्याधुनिक सुविधासहित सुरु भएको काठमाडौं नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन्।

काठमाडौंको बसुन्धरामा स्थापित अस्पतालको आइतबार भव्य समारोहबीच उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार हुने युनिक अस्पताल भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता पनि जनाए । ‘सायद म यस अस्पतालको उद्घाटन गर्न नआएको भए सँधै पछुताउने रहेछु, यस अस्पतालको दिने अत्याधुनिक सेवाहरु थाहा पाउँदा निकै खुसी भएको छु,’ उपप्रधानमन्त्री पोखरेलले भने ।
गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा हुने उहाँले बताउनुभयो । प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर काठमाडौँ नेचुरोपेथी अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताउँदै उनले भने– ‘राम्रो कामको थालनी भएको छ, अखण्डित ढङ्गले सेवा प्रदान गर्नुहोस् ।’ अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री रामबहादुर गुरुङले दीर्घकालिन रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताए। उहाँले काठमाडौँ नेचुरोपेथी अस्पतालले गुणस्तरीय सेवा दिनेमा आफू ढुक्क रहेको बताए। वरिष्ठ प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एलोपेथिक मन्त्रालयका रूपमा मात्र सिमित उनको भनाइ थियो ।

अस्पतालका अध्यक्ष गणेश पाण्डेले स्थापनाको डेढ महिनामै अस्पतालमा बिरामीको चाप बढ्ेको बताए । प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक आदि सुविधा छन् ।
विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा प्यारालाइसिस, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यञ्जन गैरेले जानकारी दिए ।

कार्यक्रममा शरीरको तल्लो भाग नचल्ने भएर काठमाडौँ नेचुरोपेथी अस्पतालमा भर्ना भएर बसेका त्रिपाठी तिवारीले अन्य अस्पतालमा उपचार हुन नसकेपछि आफू यस अस्पतालमा आएको र आएको एक साताबाटै ठीक भएको उनले बताए।

अस्पतालको उद्घाटन कार्यक्रममा  प्रदेश सभा सदस्य नारायण सिलवाल र दीपक निरौला, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपत्यका पृतनापति निरञ्जन श्रेष्ठ, पूर्वमन्त्री एवं काँग्रेस नेता रामबहादुर गुरुङ, राप्रपाका नेता हेमजङ गुरुङ, प्रभु बैंकका सिइओ अशोक शेरचन, मेगा बैंककी डुपेटी सिइओ रविना देशराज श्रेष्ठ, मुक्तिनाथ बैंकका सिइओ पद्युमन पोखरेल, रियालबल इन्स्योरेन्सका सिइओ नारायणबाबु लोहनी, चौधरी ग्रुपका कार्यकारी निर्देशक करण चौधरी, एनआरएनका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, वरिष्ठ लोकगायक बद्री पंगेनीलगायत उपस्थित थिए।

पाण्डेले अस्पताललाई आफ्नो सपनाका रुपमा लिएका छन्। चुनौतीपूर्ण काममा आफूलाई आनन्द बताउँदै यो क्षेत्रमा सक्रिय भएको बताए। उनले भने, ‘जीवन हो, चुनौती नझेली  सफलता कहाँ मिल्छ र !’

प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *