फ्लुको खोपमा परिवर्तन

भक्तपुर न्यूज

१६ मंसिर २०७६ ६:४३

फ्लुको खोपमा परिवर्तन

काठमाडौं । हरेक वर्ष हिउँद लाग्दैगर्दा फ्लुको संक्रमणले सताउँछ। फ्लु भाइरसले पनि हरेकजसो सिजनमा आफ्नो जिनमा परिवर्तन गर्दै लैजान्छ।

फ्लु फैलिएको प्रकारसँग (इस्ट्रेन) मिल्ने खोप लगाएमा यसबाट हुनसक्ने जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ तर आगामी फ्लु मौसममा कुन प्रजातिको (इस्ट्रेन) फ्लु फैलिन्छ भनेर अनुमान गर्न भने चुनौतीपूर्ण हुन्छ। तर विश्व स्वास्थ्य संगठनले हरेक सिजनमा देखिने सम्भावित फ्लुको प्रकारको (इस्ट्रेन) अध्ययन गरी त्यसै अनुरुप खोप लगाउन सुझाव दिने गर्छ।

यो सिजन सन् २०१९/२०२० को लागि खोपमा फ्लुको प्रजातिमा (इस्ट्रेन) परिवर्तन गरी नयाँ प्रजाति (इस्ट्रेन) भएको खोप लगाउन विश्व स्वास्थ्य संगठनले अनुरोध गरिसकेको छ। यसमा स्वाइन फ्लु भनेर चिनिने “एचवानएनवान पिडिएम ०९” र हङकङ फ्लुको नामले चिनिने “एचथ्रीएनटु” प्रजातिमा (इस्ट्रेन) परिवर्तन गरिएको छ।

यो दुवै प्रजाति फ्लु “ए” अन्तर्गत पर्ने गर्छ। फ्लु “ए” ले विश्वव्यापी महामारी ल्याउने गरेको छ र फ्लुको अरु प्रजातिहरु (“बी” र “सी”) भन्दा कडा र छिटोछिटो जिनमा परिवर्तन गर्नसक्ने क्षमता राख्छ।

नेपालमा विगतमा फ्लु “ए” को कारणले मानिसको मृत्यु हुने गरेको पाइन्छ। हाल त्यही फ्लु “ए” को प्रजातिलाई नै परिवर्तन गरिएको खोप लगाउन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको हो।

फ्लु “ए” अन्तर्गत “मेचिगन इस्ट्रेन” लाई विस्थापित गरी “ब्रिस्बन इस्ट्रेन” र त्यस्तै “सिंगापुर इस्ट्रेन” लाई विस्थापित गरी “कन्सास इस्ट्रेन” समावेश गरेको खोप लगाउन प्रस्ताव गरेको छ। फ्लु “बी” ले पनि नेपालमा उत्तिकै कडा र दु:ख दिने गरेको छ तर यसमा भने गत वर्षको खोपमा नै समावेश गरेका इस्ट्रेनहरु भएको खोप लगाउन प्रस्ताव गरिएको छ।

फ्लु भाइरस “ए”, “बी”, “सी” र “डी” गरी चार प्रकारका भए पनि मानिसमा पहिलो तिनले संक्रमण गर्ने गर्छ जसमा फ्लु “ए” र “बी” कडा संक्रमण हुने गर्छ र हरेक सिजनमा नेपालमा पनि देखिँदै आइरहेको पाइन्छ। त्यसैले खोपको डिजाइन गर्दा यी दुई “ए” र “बी” फ्लुको कुन प्रजातिलाई लक्षित गरी तयार गर्ने भन्ने महत्वपूर्ण हुन्छ।

नेपालमा हरेक सिजनमा फ्लुको कुन इस्ट्रेन घुमिरहेको छ भनेर सार्वजनिक हुने गरेको छैन। त्यसैले हामीले लगाउने फ्लुको खोपको प्रभावकारिता कस्तो होला भनेर यकिन गर्न सकिँदैन। अमेरिकामा सन् २०१७-२०१८ मा हालसम्मकै  सबैभन्दा बढी लगभग ८०,००० (असी हजार) मानिस फ्लुबाट उत्पन्न जटिलताबाट मृत्यु भएको तथ्यांक देखिन्छ।

नेपालमा यसको यकिन तथ्यांक छैन तर फ्लुको सिजनमा धेरै मानिस निमोनिया भएर अस्पताल भर्ना हुने गरेका वा आइसियुसम्म पुग्नुपर्ने अवस्था भएको भने देखिन्छ। यसबाट ठूलो संख्यामा नेपाली फ्लुको जटिलताबाट प्रभावित हुने गरेको अनुमान त गर्न सकिन्छ, तर यकिनका साथ भन्न भने अनुसन्धान नै गर्न जरुरी हुन्छ।

फ्लुबाट बच्ने विभिन्न उपाय भए तापनि खोप सबैभन्दा सजिलो र व्यावहारिक हुनसक्छ। के तपाईंले फ्लु विरुद्धको  खोप सही त लगाउनु भयो?

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *