दिनको एक चक्की औषधि, जसले घटाउँछ हृदयघात र स्ट्रोकको जोखिम

भक्तपुर न्यूज

६ भदौ २०७६ १०:१९

दिनको एक चक्की औषधि, जसले घटाउँछ हृदयघात र स्ट्रोकको जोखिम

काठमाडौं ।चार थरीका औषधि रहेका पिल्स (औषधिको गोली) दैनिक सेवन गर्दा हृदयघात तथा स्ट्रोकको दर एक तिहाईले कम गर्ने एक अध्ययनले देखाएको छ । रगत पातलो बनाउने एस्पिरिन, कोलेस्ट्रोल कम गर्ने स्टाटिन र रक्तचाप कम गर्ने दुई औषधि रहेको पोलीपिल नामक चक्की दैनिक सेवन गर्दा स्ट्रोक र हृदयघात घटेको देखिएको हो ।

इरान र बेलायका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सीमित खर्चमा पोलीपिल चक्कीको ठूलो सकारात्मक प्रभाव देखिएको हो ।

सीमित उमेर पार गरेका व्यक्तिलाई दैनिक यो औषधि दिन सकिने अनुसन्धाकर्ताले बताएका छन् । विशेषगरी कम विकसित तथा गरिब देश, जहाँका डाक्टरसँग सीमित मात्रै विकल्प हुन्छन् र सर्वसाधारणसम्म पुग्ने सम्भावना कम हुन्छ, ती देशमा यो औषधि प्रभावकारी हुने जनाइएको छ ।

विश्वव्यापी रुपमा कोरोनरी हार्ट डिजिज र स्ट्रोक मृत्युका प्रमुख दुई कारणमा पर्छन्, जसका कारण बर्सेनि एक करोड ५० लाख मानिसको ज्यान जाने गरेको छ । धुम्रपान, मोटोपन तथा निकै कम मात्रै शारीरिक व्यायामका कारण मुटु स्वास्थ्यमा जोखिम बढ्ने गरेको छ ।

इरानका १०० भन्दा बढी गाउँमा झण्डै ६ हजार ८ सय मानिसमा गरिएको अनुसन्धानको प्रतिवेदन द ल्यान्सेट जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानको क्रममा आधालाई पोलीपिल दिइएको थियो र जीवनशैली स्वस्थकर बनाउन सुझाव दिइएको थियो । बाँकी आधालाई पोलीपिल दिइएन, तर जीवनशैली स्वस्थकर बनाउने सुझाव भने दिइयो ।

पाँच वर्षसम्म पोलीपिलको सेवन गरेका ३ हजार ४२१ मध्ये २०२ जनामा गम्भीर खालको कार्डियोभास्कुलर समस्या देखियो । यस्तै पोलीपिल सेवन नगरेका ३ हजार ४१७ मध्ये ३०१ जनामा सो समस्या देखियो ।

अनुसन्धानमा संलग्न बर्मिङ्घम विश्वविद्यालयका प्राध्यापक टम मार्शलले भने, ‘हामीले विकासशील तथा मध्यम आए भएका देशहरुमा प्रमाण नै पेश गरेका छौँ, र यो प्रयोग गर्न मिल्ने रणनीति हो ।’पोलीपिलले रगतमा रहेको खराब कोलेस्ट्रोलको मात्रा ठूलो मात्रामा कम गर्ने र रक्तचापमा थोरै मात्र प्रभाव पर्ने अध्ययनमा देखिएको छ ।

अनुसन्धानको क्रममा ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई औषधि दिइएको थियो । सहभागी भएका व्यक्तिहरु मुटु सम्बन्धी समस्या भएका र नभएका दुवै थरी व्यक्ति थिए ।

इरानको इस्फाहन युनिभर्सिटी अफ मेडिकल साइन्सका डा। निजल सर्राफ्जादेगनले भनेका छन्, ‘पोलीपिलको सहजता र यसमा रहेको कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्न सक्ने क्षमताले गर्दा विश्वको प्रमुख मृत्युको कारणबाट मानिसलाई जोगाउन सकिने देखिन्छ ।’

पोलीपिलको आइडिया सन् २००१ मै विकास भएको थियो, तर यो पहिलो पटक हो जहाँ यसको प्रभावकारिता ठूलो स्तरमा देखिएको छ ।

प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *