मुसलधारे पानी परेपछि कारागार डुबानमा

भक्तपुर न्यूज

१३ असार २०७६ ६:२०

मुसलधारे पानी परेपछि कारागार डुबानमा

काठमाडौँ ।आज (शुक्रबार) बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार डुबानमा परेको छ । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो ।

जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा रहेको यो कारागार पटकपटक डुबानमा पर्ने गरेको छ । मुसलधारे वर्षाको पानीले कारागारको बाहिर मूलद्वारदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार जलमग्न र अस्तव्यस्त भएको चौकीदार श्यामसुन्दर यादवले बताए ।

उनका अनुसार वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान र घुमफिर गर्न लगायतका विभिन्न समस्या भएको छ । जलेश्वर कारागारमा हाल ४१९ जना पुरुष, ४१ जना महिला र तीन आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् । त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेक समेत पानीले प्रभावित बनेको छ ।

प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *