मदिरा सेवन गरी आफ्नै घरमा आगजनी

भक्तपुर न्यूज

८ असार २०७६ ५:२८

मदिरा सेवन गरी आफ्नै घरमा आगजनी

काठमाडौँ । दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा अन्दाजी ३२ वर्षीय शेरसिह बडालले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गरेका छन् । मदिरा सेवन गरी घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी ३० वर्षीया श्रीमती विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ ।

शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए। घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर ज‌ंगलतिर भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए। घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए।

घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए। बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन्। घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए। आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो। बुवा बहादुर बडाल र आमा म‌ंगलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए।

घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन्। आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए। स्थानीयवासीले रातभर लगाएर आगो नियन्त्रणमा लिएका छन्। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मितिः २०७६ असार ८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *