भक्तपुर । मध्यपुर थिमीको बोडेमा बुद्धकृष्ण बाग श्रेष्ठले आज सातौं पटक जिब्रो छेडेका छन् ।
स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाएका हुन् ।
बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा उनको जिब्रो छेडिएको हो ।
नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिँ बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ ।
बाँस एवं निगालोले बनेको अर्धचन्द्राकार महाद्वीप (भ्यय) बालेर जिब्रो छेड्ने व्यक्तिलाई बोकाई विभिन्न टोलटोलमा घुमाइन्छ ।
टोलटोल घुमाई पाँचोगणेशको रथलाई भागुटोल पुर्याएपछि नकर्मी नाइकेले जिब्रोमा रहेको सियो निकाली महालक्ष्मीको माटो जिब्रोको प्वालमा राखिदिन्छन् र सियो गणेश मन्दिरमा ठोकिदिन्छन् । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा औषधि लाउनु नपर्ने मान्यता रहेको छ ।
चैत मसान्तका दिन महालक्ष्मीको मन्दिरमा लिङ्गो ठड्याएर धुनी जगाएपछि जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेडेर विधि पूरा नगरुन्जेलसम्म निराहर बस्नुपर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपंक्षी र महिलालाई छुन नहुने परम्परा छ ।
प्रकाशित मितिः२०७६ वैशाख २ सोमबार
Comments