काठमाडौं । पछिल्लो दशक विश्व फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीबीच को उत्कृष्ट खेलाडी भन्ने तर्क चल्दै आएको छ । सबैले आ–आफ्ना तर्क राख्दै आफूलाई मन पर्ने खेलाडीलाई उत्कृष्ट देखाउन खोज्छन् । यसैक्रममा रोनाल्डोका सहकर्मी फेडरिको बर्नाडेचीले भने रोनाल्डो संसारकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् ।
उनले आफूले देखे देखि रोनाल्डोले माथिल्लो स्तरको खेल प्रदर्शन गर्दै आएको बताउँदै रोनाल्डोलाई उत्कृष्ट खेलाडीको संज्ञा दिएका हुन् । इटालीको पत्रिका ‘टुटो स्पोर्टस्’सँगको विशेष अन्तर्वार्ताक्रमा उनले मेस्सी उत्कृष्ट खेलाडी भए पनि उनी रोनाल्डोको स्तरको भने नभएको बताए । लामो समयदेखि मैले मेस्सीको खेल हेर्दै आएको छु र रोनाल्डोको पनि, बर्नाडेचीले भनेका छन्, रोनाल्डो एक अद्भुत क्षमताका खेलाडी हुन् । बर्नाडेचीले मेस्सीलाई पनि धरै राम्रो खेलाडी भएको बताए । उनले भने, ‘मेस्सी निकै राम्रा खेलाडी हुन् । तर, सबै हिसाबले हेर्दा उनी रोनाल्डोको स्तरका होइनन् ।
बर्नाडेचीले रोनाल्डो मैदानको प्रदर्शन, नेतृत्व क्षमताका हिसाबले पनि मेस्सीभन्दा माथि रहेको बताए । ‘यदि हामीसँग रोनाल्डो छन् भने हाम्रा लागि २–० ले पछि परेको अवस्था पनि ०–० बराबर हुन्छ, उनले भने, ‘रोनाल्डोले जुनसुकै बेला खेलमा परिवर्तन ल्याउन सक्छन् । इटालियन विंकर बर्नाडेची र रोनाल्डोबीच अहिले युभेन्टसमा निकै राम्रो लय मिलिरहेको छ ।
प्रकाशित मितिः २०७५ असोज १९ शुक्रबार
Comments