आउनुस् बिचारौं किसानको अवस्था..!

भक्तपुर न्यूज

२२ असार २०७५ ८:२८

आउनुस् बिचारौं किसानको अवस्था..!

काठमाडौं २२ असार । पोहोर सालको मंसीर र पौष महिनामा पूर्वी नेपालका बजारहरूमा आम किसानले उब्जाउने धानको अधिकत्तम मूल्य प्रति क्वीन्टल रू. २०५० थियो । मनको रू. ८१०  त्यसैबखत सीमावर्ती भारतीय बजारमा सोही धानको मूल्य प्रति क्वीन्टल नेरू. २४८० रहेको  थियो । आजै भारत सरकारले यस बर्षका लागि धानको समर्थन मूल्य भारू. १७५० तोकेको छ । यसको नेरू. २८०० हुन आउँछ ।

भारतमा निम्नत्तम समर्थन मूल्य तोकिएपछि २५ करोड भारतीय किसानले उब्जाउने धान सो मूल्यमा खरीद गर्ने व्यवस्था त्यहाँको सरकारले गर्दछ । नेपालमा पनि सरकारले समय समयमा यसरी नै समर्थन मूल्य तोक्ने गर्दछ । तर, सरकारले किसानको धान खरीद गर्दैन ।    बाध्यतावस किसान खुला बजारमा धान बेच्न बाध्य हुन्छ । जहाँ गत बर्ष प्रति क्वीन्टल मूल्य रू. २०५० को मूल्य थियो । गत बर्ष नै भारतको बजार भन्दा नेपाली धानको मूल्य प्रति क्वीन्टल नेरू ४३० कम थियो । यस बर्ष यदि नेपाली धानको अघिल्लै बर्षको मूल्य रह्यो भने भारतको भन्दा यहाँको धानको मूल्य क्वीन्टलको नेरू ७५० कम हुनेछ ।

एक जना नेपाली किसानले यदि ट्याक्टरको एक ट्रली धान सीमावर्ती भारतीय बजारमा पुर्यायो भने कम्तिमा पनि १० टन धान लोड गरिन्छ । अर्थात, १०० क्वीन्टल धान । यदि कुनै नेपाली किसानले १० टन धान लोड गरेर बेच्नका लागि सीमावर्ती भारतीय बजार पुर्याउँछ भने नेपालको तुलनामा उसले नेरू. ७५००० बढी पाउँछ । भारतका प्रधानमंत्री नरेन्द्र मोदीले नेपाली संसदमा भनेका थिए– ‘पहाडले पानी र जवानीलाई रोक्न सक्दैन । त्यो तल झर्छ झर्छ ।’ यो बडो महत्वको प्रतिकात्मक अभिव्यक्ति थियो । भारतका सीमावर्ती नेपाली क्षेत्रका कृषि उपजमा यो हुबहु लागु हुन्छ ।

नेपाल सरकारले धानको भारत निकासीलाई जतिनै रोक्न खोजेपनि बढी मूल्यको किसान चाहनालाई रोक्न सकिन्न । नेपालका सशस्त्र प्रहरीले रू. २००० घूस लिएर ट्याक्टर जान दिन्छ । यो उसको राजधर्म हो । गर्छ गर्छ । भारतीय एसएसबीले कुनै रोक टोक गर्दैन ।

यौटा ट्याक्टरको भाडा बढीमा प्रतिदिन नेरू. ४००० पर्छ । यसरी कूल खर्च ६ लाख ७ हजार पर्न जान्छ । एक ट्याक्टर धान सीमावर्ती भारतीय बजारमा पुर्यांईदा किसानलाई खर्च कटाई औसतमा नेरू. ६८ हजार बचत वा नाफा हुन्छ । बढी लागत र कम नाफामा धान बेच्नका लागि बाध्य किसानको लागि यो ठूलो बचत हो । नाफा हो । यो बिषय फगतको गफाडी राष्ट्रियताको गँजडी गफ भन्दा बढी महत्वपूर्ण छ किसानका लागि । तराईका पर्वते किसान हुन् वा मधेसी यसमा सहमति हुन्छ । यो सीमावर्ती नेपाली किसानको अर्थशास्त्र हो ।

भर्खरै गएको असार १५ का दिन नेपालमा धान दिवस मनाईयो, रमाईलो भयो । तर, नेपाली कृषि उपजको यस अवस्था र किसानको यस पीडामा कुनै छलफल भएन । सिंहदरबारका हुन् वा बिराटनगर अथवा जनकपुरका सरकार हुन, यस बिषयमा कुनै सोच बनाएको देखिन्न ।   बर्षेनी भारतबाट चामल आयात गर्न हामी बाध्य छौं । औपचारिक वा अनौपचारिक दुबै तरहबाट । नेपालबाट भारत तर्फ धान जान दिनु हुँदैन भन्ने कुरा माँगको रूपमा उठिरहेको हुन्छ । यस्ता माँग गर्नेहरूलाई कृषि बजारको दारूण अवस्था र कृषि अर्थतन्त्रको बारेमा कुनै ज्ञान छैन भन्दा अन्यथा नहोला ।

मैले माथि उल्लेख गरेको अवस्था विद्यमान रहेसम्म नेपालमा जति नै बढी धानको उपज भएपनि नेपाल धानमा आत्म निर्भर हुन सक्दैन । सार्थक विचार हुनु जरूरी छ । (जयप्रकाश आनन्दको फेसबूकवालबाट साभार)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *