एजेन्सी, १७ पुस । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीको कीर्तिमानी विजयी यात्रा टुंगिएको छ । प्रिमियर लिगमा लगातार १८ खेल जितेर एकै सिजन र समग्र प्रिमियर लिगको इतिहासमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी गएराति भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी रोकिए पछि विजयी यात्रा टुंगिएको हो ।
क्रिष्टल प्यालेसका लुका मिलिवोजेविकले अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारेपछि सिटी हारबाट जोगियो । जारी लिगको एकमात्र अपराजित टोली सिटीले अहिलेसम्म खेलेका २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने बाँकी १९ खेल जितेको छ ।
रेलिगेशन जोनबाट माथि रहेको क्रिष्टल प्यालेसले स्टार खेलाडीले भरिएको म्यानचेस्टर सिटीलाई गोल गर्न दिएन । खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएर पनि सिटीले गोल भने गर्न सकेन ।
क्रिष्टल प्यालेससँगको बराबरीपछि लिडर सिटीको २१ खेलबाट ५९ अंक भएको छ । सिटी दोस्रो स्थानको चेल्सी भन्दा १४ तथा तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १५ अंकले अघि रहेको छ ।
कीर्तिमानी म्यानचेष्टर सिटीको विजयी यात्रा टुंगियो
0
Share.
Comments