नवनियुक्त चार प्रहरी अतिरिक्त महानिरीक्षकलाई दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, ७ मंसिर । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले हालै बढुवा भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) लाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रिपरिषदले गत मंसिर ६ गते प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती गरेका हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई आज प्रहरी प्रधान कार्यलयमा आयोजित समारोहमा दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।
समारोहमा शुभकामना मन्तव्य तथा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले संगठनको उच्च तहमा पुगेको अवस्थामा अझै अब्बल कार्य गर्ने अपेक्षा संगठनको रहेको बताए ।
निर्वाचनको पूर्वसन्ध्यामा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्ने चुनौतीको सहज व्यवस्थापन गरी पदोन्नतीको उपादेयतालाई पुष्टी गर्ने बिश्वास व्यक्त गर्दै उनले यस कार्यमा सफलताका लागि मातहतलाई निर्देशन दिई काम गर्नुपर्नेमा जोड दिएका थिए ।
उक्त अवसरमा पदोन्नती भएका प्रहरी अधिकतहरुको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक हेमन्तबहादुर पालले बहुआयामिक उद्देश्य बोकेको प्रहरी संगठनमा आफ्नो विवेक र अनुभवको उचित प्रयोग गरी संगठनको गरिमा बढाउने कार्यमा कटिवद्ध रही कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।