तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
काठमाडौं । उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलनरत नेपाल चिकित्सक संघसँग सरकारले मंगलवार तीन बुँदे सहमति गरेको छ । सहमतिपछि नेपाल चिकित्सक संघलगायतका सरोकारवाला संघसंस्थाहरुले सबै किसिमका आन्दोलनहरु मंगलवार रातिदेखि नै स्थगन गरी नियमित सेवा सुचारु गर्ने उल्लेख छ ।
विभिन्न माग राख्दै आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।
कार्यदल संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख रहेका छन् । सदस्यमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने छन् ।कार्यदलबाट प्राप्त प्रतिवेदन मन्त्री तथा नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोही अनुसार कार्यान्वयन गर्ने भनिएको छ ।
चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघलगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी भएका थिए ।सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र कानूनमन्त्री अजय चौरसिया सहभागी थिए ।