गलीगलौज नगर्न प्रधानमन्त्री ओलीको प्रचण्डलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरूलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आइतवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्न आग्रह गरे ।
‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यु र विपक्षी दलका मान्यजीहरुले टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको थियो । म त्यतापट्टि जान चाहिन,’ ओलीले भने, ‘ ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रैछस्, उस्तो रैछस् भनेर गाली गर्ने । त्यसमा मैले केही भनिरहन आवश्यक छैन जस्तो देख्छु । आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै हो।’
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा विकास तीव्र रूपमा बढेको बताए । उनले ‘मार्सी चामल चाखेको’ कुरा सुनाउँदा संसदमा हाँसो छाएको थियो । ‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसो उठेको हो । दुर्गा प्रसाईंको ठिमी निवासमा उनले नेकपा एकता अघि मार्सी चामल खाएका थिए, जुन तस्बिर अहिले पनि निकै चर्चित रहेको छ।
महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न आग्रह
उनले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन निजामती सेवासहित महत्त्वपूर्ण विधेयकहरू छिटो पारित गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी विधेयक छिटो पारित गर्नुपर्ने बताए ।
यसैगरी, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको आग्रह छ।