राज्यकोषबाट बाँडियो साढे ८२ करोड

भक्तपुर न्यूज

१० भदौ २०७४ ३:५६

राज्यकोषबाट बाँडियो साढे ८२ करोड

काठमाडौं, १० भदौ । गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुँचवालाहरूलाई वितरण गरेको हो ।

आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा रकम बाँडिएको छ । विभिन्न शीर्षकमा सहायता पाउनेको संख्या १ हजार २ सय ३० छ । आर्थिक सहायता पाउनेको नामावली भने मन्त्रालयले गोप्य राखेको छ ।
मन्त्रालय स्रोतका अनुसार उक्त रकम पूर्वगृहमन्त्री विमलेन्द्र निधिका पालामा मात्र बाँडिएको हो ।‘मन्त्रीज्यूबाट कार्यकर्तालाई कुनै पनि कानुनी निर्देशिकाविनै त्यसरी पैसा बाँड्ने काम भएको थियो,’ गृह मन्त्रालय स्रोतले भन्यो,‘हरेकपटक सरकार परिवर्तन हुँदा आफ्ना कार्यकर्तालाई यसरी नै पैसा बाँड्ने गरिएको छ ।’

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पनि राज्यकोषबाट आर्थिक सहायता, उपचार सहायताका नाममा करिब एक करोड वितरण भइसकेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृहले १० जनाको उपचार खर्चका लागि करिब ९ लाख रुपैयाँ वितरण गरेको छ । उपचार खर्च सहायताका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत गृहबाट पैसा बाँडिएको हो । मन्त्रालयले गैरकानुनी रूपमा आर्थिक सहायता लिनेको नामावली दिन भने अस्वीकार गरेको छ । मन्त्रालयले १० जनालाई ८ लाख ९३ हजार ५ सय ९८ रुपैयाँ दिएको हो । उनीहरूलाई कस्तो रोग लागेको भन्ने पनि खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *