भक्तपुर, २ भदौ । शुभनगर विकास समाजले बाढीपीडितका लागि रु ३० हजार रकम संकलन गरी सुर्यबिनायक नगरपालिका मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सुर्यबिनायक नगरपालिका–२, बालकोटमा समाजले आयोजना गरेको राहत हस्तान्तरण तथा तीज कार्यक्रममा समाजको तर्फबाट संकलित रकम सुर्यबिनायक नगरपालिकाका उपमेयर जुना बस्नेतलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष बिजया शर्माले तराईका बस्तीमा बाढीले पुर्याएको धनजनको क्षति र त्यहाँका नेपाली दाजुभाई दिदीबहिनीले पाएको पींडामा थोरै भए पनि मलम लगाउने प्रयास स्वरुप सो रकम संकलन गरि नगरपालिका मार्फत प्रधानमन्त्री दैबी प्रकोप कोषमा संकलन गरिएको बताईन् ।
कार्यक्रममा सांसद रामेश्वर ढुंगेलले तराईमा बाढी र पहाडमा पहिरोले पुर्याएको क्षति र शोकलाई शक्तिमा बदल्न हिमाल पहाड र तराई सबै नेपाली एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
ललितकला एकेडेमीका कुलपति रागिनी उपाध्यायले यसपालिको तीजमा महिलाले श्रृङ्गार र गहनामा खर्च गर्न भन्दा मानवीय सेवामा खर्च गर्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा उपमेयर बस्नेतले समाजले बाढी पीडितका लागि हस्तान्तरण गरेको रकम दैबी प्रकोप कोषमा पुर्याउने बताउँदै बाढी पहिरोको चपेटामा परेका तराई र पहाडका नेपाली दाजुभाईका लागि शुभनगरले जस्तै देशका टोल टोल र बस्तीबस्तीबाट सहयोगी हातहरु जुट्नुपर्नेमा जोड दिईन् ।
समाजका सल्लाहकार तथा बरिष्ठ पत्रकार धर्मेन्द्र झाले हरेक बर्ष समाजले संस्कृतिको जगेर्नाका लागि तीज कार्यक्रम गर्दै आएको बताउँदै यस बर्ष भने बाढी पीडित नेपालीजनको दुःखमा मलम लगाउने पहल स्वरुप राहत संकलन गरिएको बताए ।
देशका बिभिन्न जिल्लाबाट आएर बसेका स्थानीय बासिन्दाबीच भातृत्व, स्नेह, एकता, सहयोग र सहकार्य बढाउन समाजको स्थापना गरिएको स्थानीय बासिन्दा तथा बरिष्ठ पत्रकार गोपाल खनालले बताए ।
Comments