किम्फ महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन

भक्तपुर न्यूज

२१ जेठ २०८१ ४:४७

किम्फ महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन

काठमाडौं । ‘२१ औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)’ सकिएको छ । इटालियन निर्देशक ब्रान्डो क्विलिची निर्देशित ‘द टाइगर्स नेस्ट’ को एसिया प्रदर्शनी (प्रिमियर) सँगै शुरु भएको महोत्सवमा २२ देशका ६० चलचित्र प्रदर्शन गरिएको किम्फका अध्यक्ष रम्यता लिम्बूले जानकारी दिए।

महोत्सवमा ‘नेपाली पानारोमा’अन्तर्गत चलचित्रतर्फ विशेष उल्लेख (स्पेसल मेन्सन्स) मा ‘द मोङ्क एन्ड द रेबेल’ र ‘हावाम्यान’ तथा नियमिततर्फ ‘दुविधा’ र ‘नेपाली फिक्सन’ विजेता घोषित भए । यस्तै, वृतचित्रतर्फ विशेष उल्लेखमा ‘रोङफामु’ र ‘वाग्गिङ टेल’ तथा नियमिततर्फ ‘धेय ड्रिम्स’विजेता घोषित भए ।

यस्तै, ‘इन्टरनेसनल सर्ट फिक्सन’ अन्तर्गत विशेष उल्लेखमा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ तथा नियमिततर्फ ‘एड्जस्टेमन्ट’ विजेता घोषित भए । ‘इन्टरनेसनल फिचर फिक्सन’ अन्तर्गत ‘अ चाइल्डलेस भिल्लेज’, ‘इन्टरनेसनल सर्ट डकुमेन्ट्री’अन्तर्गत विशेष उल्लेखमा ‘इटर्नल फ्लेम’ र ‘फरवार्ड’ तथा नियमिततर्फ ‘क्लाइम्बिङ फर गोल्ड’ विजेता घोषित भए ।

‘फिचर डकुमेन्ट्री’तर्फ विशेष उल्लेखमा ‘इन टु द हार्ट अफ माउन्टेन’, ‘यम्नुस्का : द र्‍याग्ड एज’, ‘क्विनडम’ र ‘अगेन्स्ट द टाइड’ सँगै नियमिततर्फ ‘रिओ रोजो’ विजेता घोषित हुँदा ‘अडियन्स च्वाइस अवार्ड’ भने ‘म अलप हुन चाहन्छु’ ले जित्न सफल रह्यो ।

अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट ‘फिचर वृत्तचित्र’ लाई एक हजार पाँच सय अमेरिकी डलर, उत्कृष्ट लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट ‘फिचर कथानक’लाई एक हजार पाँच सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरियो ।

‘नेपाल पानोरमा’ अन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र र उत्कृष्ट कथानक चलचित्रलाई एक लाख रुपैयाँ प्रदान गरियो । दर्शकको भोट पाउने वृत्तचित्रले एक लाख रुपैयाँ पुरस्कार राशि रहेको ‘अडियन्स च्वाइस अवार्ड’ प्राप्त गर्‍यो । निर्देशक र निर्माता डिना मुफ्ती (बेलायत), मानवशास्त्री सुरेश ढकाल (नेपाल), चलचित्र सम्पादक रेजिना बर्तस्की (स्वीट्जरल्यान्ड) निर्णायक मण्डलको रुपमा रहेको महोत्सवमा ‘माउन्टेन्स म्याटर : अ कल फ्रम द हिमालयज’ र ‘वुमेन बिहाइन्ड द क्यामेरा’ शीर्षकमा सामूहिक छलफलको आयोजना गरिएको थियो ।

महोत्सवमा समकालिन नेपाल, एसिया र विश्वभरकै हिमाली जनजीवन, जलवायु परिवर्तन, लैङ्गिकतालगायत विविधताले भरिएका चलचित्र तथा वृतचित्र सहभागी थिए । महोत्सव प्रदर्शनी मार्गको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जेठ १६ देखि हिजो २० गतेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *