ताइवान वरपरको क्षेत्रमा चीनको सैन्य अभ्यास शुरु
काठमाडौं । ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास शुरु गरेको छ । यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवानको आकाशमा चिनियाँ सैन्य अभ्यास शुरु भएको बीबीसीले जनाएको छ ।
चिनियाँ पिपुल्स लिबरेशन आर्मी (पीएलए) का प्रवक्ता ली शीले यो अभ्यासलाई पृथकतावादी गतिविधिविरुद्धको कडा कारबाहीको संज्ञा दिएको खबरमा उल्लेख छ । उनले चीनको जल तथा हवाई सेनाले संयुक्त रूपमा अभ्यास थालेको जानकारी दिए ।
आज बिहान शुरु भएको चिनियाँ सैन्य अभ्यास ताईवानी मुख्यद्वीपको चारैतर्फ जारी छ । ताइवानका विभन्न क्षेत्रमा धेरै चिनियाँ लडाकु जहाजले फन्को मारेका छन् । चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ ।
साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । चीनले ताइवान आफ्नो भू–भाग भएको दाबी गरिरहेको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश भन्दै आएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १० बिहिबार