कामको खोजीमा दैनिक तीनसय जमुनाह नाकाबाट बाहिरिँदै नेपाली

भक्तपुर न्यूज

५ साउन २०८० ९:५७

कामको खोजीमा दैनिक तीनसय जमुनाह नाकाबाट बाहिरिँदै नेपाली

काठमाडौं । नेपालगन्ज भएर कामको खोजीमा भारत जाने नेपालीको सङ्ख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यसरी जानेमा पिठ्युँमा बालबालिका बोकेका महिलासमेत छन् ।

धान रोपाइँ सकिएपछि कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेपालीहरु कामका लागि भारत जाने गरेका हुन् । कतिपय नेपालीहरु नेपालगन्जबाट भारतका विभिन्न शहरमा सञ्चालनमा रहेका बसमार्फत पनि भारत जाने गरेका छन् ।

सुर्खेत सिम्ताका रामबहादुर थापाले विगत १२ वर्षदेखि भारतको गुजरातमा होटल मजदुरको रुपमा काम गर्दैआएको बताए । नेपालगन्ज भन्सार कार्यालय नजिकै भेटिएका थापाले भने, ‘वैशाखमा घर आएको थिएँ, अहिले फेरि कामका लागि साथीभाइसहित पुरानै ठाउँमा जान लागेका छौं ।’

पछिल्लो समय सीमानाकामा कडाइ गरिएपछि दैनिक किनमेलका लागि भारत जानेको सङ्ख्या घटेको भए पनि कामका लागि भारत जानेको सङ्ख्या भने बढेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले असार अन्त्यदेखि नै सीमानाका भएर भारत जानेहरुको सङ्ख्या बढिरहेको जानकारी दिए ।

नेपालीहरु समूह–समूहमा र एक्लाएक्लै पनि भारततर्फ जाने गरेको प्रहरीले जनाएको छ । जमुनाह प्रहरीको तथ्याङ्कअनुसार करिब तीन सयको हाराहारीमा नेपाली भारततर्फ दैनिक रुपमा जाने गरेको पाइएको छ । नेपाली यहाँ चाडपर्व मानेर तथा कामकाज सकेर मौसमी रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गरिन्छ । फेरि दशैं, तिहारको समयमा भने स्वदेश फर्किने नेपालीको सङ्ख्या अधिक हुने गरेको छ ।

प्रकाशित मितिः २०८० साउन ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *