सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा असोजबाट सञ्चालन गर्ने सरकारको तयारी

भक्तपुर न्यूज

४ साउन २०८० ११:०५

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा असोजबाट सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघिय काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ। उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तब्य पुग्न कठिन भएपछि द्रुत बस सेवा सञ्चालन गर्न लागिएको मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

तत्कालका लागि द्रुत बस सेवा अध्याधिक जामको समय विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ । त्यसका लागि ४० सिटभन्दा माथीका करिव २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताएको छ ।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ। द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड प्रमिटको ब्यवस्था मिलाउन यातायात ब्यवस्था विभागलाई निर्देशन दिएका छन्।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ। अत्याधिक जामको बेला सुर्य विनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा १ घण्टा ३० मिनेट लाग्ने गरेको छ।

मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात ब्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, विभागका उपमहानिर्देशक रामहरी पोखरेल, निजी सचिव रामहरी शर्मा, ट्राफिक प्रहरीका डिआइजी र एसएसपी, यातायात ब्यवसायी महासंघका पदाधिकारीहरुसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।

द्रुत बस सेवाका लागि मोवाइल एप पनि बनाइने भएको छ। द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ।

प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *