काठमाडौं । फिफा विश्वकप फुटबलमा सोमबार पहिलो खेलमा समूह ‘जी’ अन्तर्गत क्यामरुन र सर्बिया प्रतिस्पर्धा गर्दैछन्।
जानौव रंगशालामा दिउँसो ३:४५ मा सुरु हुने प्रतिस्पर्धामा दुवै टिम निश्चित जित निकाल्दै नकआउटको सम्भावना बलियो बनाउने लक्ष्यमा मैदानमा उत्रने छन्।
पहिलो खेलमा हार बेहोरेको दुवै टोली अंकविहीन रहेकाले हार्ने टिम प्रतियोगिताबाट बाहरिने जोखिममा पुग्नेछ। सर्बिया ब्राजिलसँग २-० तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १-० ले पराजित भएको थियो।
दुवै टिमलाई बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बन्ने छ। दोस्रोपटक एक-अर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका दुवै टिम पछिल्लोपटक सन् २०१० मा भएको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए। जतिबेला सर्बियाले ४(३ को जित निकालेको थियो।
आठौँ पटक विश्वकप खेलिरहेको क्यामरुनको सबैभन्दा उत्कृष्ट नतिजा सन् १९९० को विश्वकपमा क्वाटरफाइनलसम्म पुग्नु नै हो। त्यसयता क्यामरुन समूह चरण नै पार गर्न सकेको छैन।
सन् २००२ मा साउदी अरेबियालाई १-० ले पराजित गरेयता क्यामरुनले विश्वकपमा जित निकाल्न सकेको छैन। त्यसयताको सबै ८ खेलमा क्यामरुनले हार बेहोरेको छ। समग्रमा यी दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ।
प्रकाशित मितिः २०७९ साल मंसिर १२ सोमबार
Comments