सिड्नीमा नेपाली भाषा पाठशाला संचालनको तयारी

भक्तपुर न्यूज

१८ जेठ २०७४ ६:०५

सिड्नीमा नेपाली भाषा पाठशाला संचालनको तयारी

एजेन्सी ३१ मे, सिड्नी । नेपालीहरुको स्थायी बसोबास रहेका सिड्नीका बस्तीहरुमा दोस्रो पुस्तालाई नेपाली भाषा संस्कृतिबाट हुँन नदिन नेपाली भाषा पाठशालाको तयारी गरिएको छ ।  खासगरी यहाँको उत्तरी सिड्नीको डीवाई इलाकाका नेपालीले अघिल्लो हप्ताबाट यो नेपाली भाषा पाठशाला संचालनका लागि तयारी शुरु गरेका छन् ।

उनीहरुले स्थानीय काउन्सिलसँग पनि परामर्श गरेका छन् । डीवाई इलाकामा मात्रै अहिले एक दर्जन बालबालिका छन् । उत्तर सिड्नीको समुन्द्री तटका अन्य बस्तीमा भएका नेपालीको संख्या जोड्ने हो भने यहाँ कखरा सिक्ने उमेरमा दर्जनौ नेपाली बालबालिकाहरु छन् ।

नेपाली भाषा कक्षा सुरु गर्ने प्रक्रियामा लागि परेका उत्तर सिड्नीको समुन्द्री तटका नेपाली बस्तीहरुका एक सामाजिक नेता अर्जुन गिरीले भने, हामी हाम्रा नानीहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन कक्षा संचालन गर्ने तयारीमा छौ ।’ उनले वैधानिक प्रक्रिया मिलाउन र केही तयारी गर्न बाँकि रहेको बताए । उनले यहाँको स्थानीय काउन्सिलबाट सकारात्मक जवाफ प्राप्त गरेको बताएका छन् । नेपाली अविभावकहरुले पनि निकै रुची जनाएको उनको भनाइ छ ।

गत हप्ता यहाँको मेंली बाधमा आयोजित एक समारोहमा उपस्थित भएका झन्डै एक सय नेपालीले आफ्ना साना बालबालिकाका लागि नेपाली भाषा पाठशाला खोल्ने बारे छलफल गरेका थिए । त्यस्तै सोही दिन नेपालबाट आफ्ना छोराछोरीलाई भेट्न आएका अविभावकलाई एक्लो महसुस हुन नदिन र अस्ट्रेलियाको भुगोल र समाजसंग घुलमिल गराउन नियमित रुपमा अभिभावकहरुको भेटघाट कार्यक्रम आयोजना गर्ने छलफल पनि भएको छ ।

नेपाली भाषा कक्षा संचालन गर्न स्थानीय काउन्सिलसंग समन्वय गरिरहेका अर्जुन गिरीले भने, आगामी जुलाई महिनाबाट सबै प्रक्रिया पुरा हुने र कक्षा संचालन हुने छ ।’ स्थानीय काउन्सिलले पाँच वर्ष उमेर पुगेका कम्तिमा पच्चीस जना बालबालिका भएमा आफ्नो मातृभाषाको पाठशाला खोल्न सकिने सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *