भावी प्रधानमन्त्री शेरबहादुरका अबका चुनौती
काठमाडौं ११ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बाटो खुलेको छ। कांग्रेस र माओवादी केन्द्रबीच गत असार अन्तिमसाता भएको समझदारीअनुसार साउनमा प्रधानमन्त्री भएका दाहालले बुधबार पदबाट राजीनामा दिएपछि देउवालाई कार्यकारी प्रमुख बनेर सिंहदरबार प्रवेशको चौथो अवसर जुर्न लागेको हो। देउवाका लागि यो अवसर चुनौतीपूर्ण हुनेछ।
कांग्रेस–माओवादी केन्द्र गठबन्धनलाई निरन्तरता दिँदै देउवा जेठ तेस्रो साता मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित हुनेछन्। संवैधानिक र संसदीय प्रक्रिया सहजरुपमा अघि बढे कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा १२ वर्ष ४ महिनापछि फेरि कार्यकारी प्रमुखका रुपमा सिंहदरबार प्रवेश गर्ने छन्।
२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको शासनसत्ता आफ्नो हातमा लिँदै देउवालाई कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट अपदस्थ गरेका थिए। ०७२ फागुनमा पार्टीको कमान्ड समालेका देउवा माओवादी केन्द्र, मधेस केन्द्रित दलको गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने तयारीमा छन्।
कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस–माओवादी केन्द्रसहित दलहरूको गठबन्धनले निरन्तरता पाउने दाबी गरे। अहिलेको गठबन्धनमा तलमाथि हुँदैन, निधिले नागरिकसँग भने, यसकै निरन्तरताका रुपमा कांग्रेस सभापति प्रधानमन्त्री बन्नुहुनेछ।
परम्परा, संवैधानिक व्यवस्था र प्रक्रिया पूरा गर्दा बढीमा जेठ २३ भित्र देउवा प्रधानमन्त्री बनिसक्ने दाबी उनले गरे। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गर्ने र त्यसअवधिमा सहमति जुट्न नसके बहुमतीय प्रक्रिया सुरु हुने बताउँदै निधिले भने, १९ गते स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्यक्रम रहेकाले २० वा २१ गते प्रधानमन्त्रीको उम्मेदवारी दर्ता हुन्छ।
२३ सम्ममा उहाँ प्रधानमन्त्री निर्वाचित भइसक्नुहुन्छ। दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत निर्वाचन आयोगले जेठ १९ गते उम्मेदवारी मनोनयन समय तोकेको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि कम्तीमा सात दिनको समय दिने विगतको प्रचलन छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट दिएको राजीनामा बुधबार नै स्वीकृत गरेकी छन्। तर, उनले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्न बाँकी छ।
राष्ट्रपतिका जनसर्म्पक स्वकीय सचिव जीवछ साहले नयाँ सरकार गठनका लागि पत्र गइनसकेको जानकारी दिए। विगतको परम्परालाई हेरेर राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछ,उनले भने, दाहाल नेतृत्व सरकारलाई धन्यवादसहित अर्को सरकार गठन नभएसम्म कार्यसम्पादन गर्न राष्ट्रपतिले आह्वान गरिसक्नु भएको छ।
दाहालले बुधबार राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएको पत्र बुझाएका थिए। लगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा ९८० को खण्ड क बमोजिम प्रधानमन्त्री पदबाट दिएको राजीनामा सोही धाराको उपधारा ९१०० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्लाई काम गर्न भनेकी छिन्।