काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको एशिया क्षेत्रको छनोटमा मलेसियालाई पराजित गर्दै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबईमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गरेको हो।
नेपालका लागि सीता राना मगरले ३०, रुविना क्षेत्रीले २०, सरिता मगरले १५, कविता कुँवरले १०, इन्दु बर्माले चार र अप्सरा बेगमले एक रनको योगदान दिइन्। मलेसियाका लागि आइसा इलिसाले एक विकेट लिइन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले सात विकेटको क्षतिमा ९२ रन बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टरले ३९, मस इलिसाले १४ र युस्रिना याकुपले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि आज पनि बलरले उत्कृष्ट खेल प्रदर्शन गरे । सवनव राईले दुई तथा कविता कुँवर, सीता राना मगर र रुविना क्षेत्रीले एक९एक विकेट लिए। यो जितसँगै नेपाल ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। नेपाल चार खेलमा एक हजार तीन जित निकालेको छ।
त्यस्तै, ६ अंक जोडेको यूएई रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ। हङकङ चार अंकसहित तेस्रो स्थानमा रहेको छ भने मलेसिया र भुटान दुई-दुई अंकसहित चौथो र पाँचौ स्थानमा छन्। कुवेतले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन।
नेपालको अर्को खेल अन्तिम खेल आइतबार यूएईसँग खेल्नेछ। यूएईलाई पराजित गर्न सकेमा नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।
प्रकाशित मितिः २०७८ मंसिर १० शुक्रबार
Comments