काठमाडौं । विश्वकपको युरोपेली छनोटमा पोर्चुगलले शानदार जित निकालेको छ ।
मंगलबार राति पोर्चुगलले अजरवैजानलाई ३-० ले हराएको हो । जितसहित पोर्चुगल समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।
म्यान्चेष्टर युनाईटेडका ब्रुनो फर्नान्डेजको क्रसमा म्यान्चेष्टर सिटीका बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे सिल्भाले ३१ औं मिनेटमा भ्रमणकारी टिम पोर्चुगलको अग्रता दोब्बर बनाए ।
लिभरपुलका डिएगो जोटाको पासलाई सदुपयोग गर्दै सिल्भाले अग्रता दोब्बर बनाएका थिए । खेलको ७५ औं मिनेटमा जोटाले एक गोल थप्दै टिमको जित सुनिश्चित गरे ।
अन्तराष्ट्रिय विश्रामपछि पोर्चुगलको तेस्रो जित र सर्वियाले रिपब्लिक अफ आयरल्याण्डसंग १-१ गोलको बराबरी खेलेपछि साविक युरो च्याम्पियनले समूहमा दुई अंकको अग्रता लिएको छ । पोर्चुगलको १३ र सर्वियाको ११ अंक भएको छ ।
पोर्चुगल कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको थियो । रिपब्लिक अफ आयरल्याण्डविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा रोनाल्डोले दोस्रो पहेलो कार्ड खाएका थिए ।
राष्ट्रिय टिमबाट कीर्तिमानी गोलकर्ता बनेका रोनाल्डोले खुसीयाली मनाउने क्रममा कार्ड खादै अर्को खेल गुमाउने भएका थिए । समूहमा तीन खेल खेल्न बाँकी रहेको पोर्चुगलले अक्टोबर १२ मा लक्जमवर्गसंग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २३ बुधबार
Comments