म्याग्दी । धवलागिरि गाउँपालिका–७ धारापानीनजिक वादिकाको भिरमा यात्रुवाहक जिप पल्टिँदा एक जनाको मृत्यु भएको छ । ताकमबाट सदरमुकाम बेनीतर्फ गइरहेको ग१ज ६८०५ नम्बरको जिप शुक्रबार बिहान ११ बजे सडकबाट खसेको हो ।
दुर्घटनामा ताकमकै २७ वर्षीय विशाल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते चालकसमेत ८ जनाको मालिका गाउँपालिकाको केन्द्र दरवाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
‘घाइतेको थप विवरण आउन बाँकी छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने, ‘ओरालो सडकबाट भिरतर्फ गुल्टेको गाडी संयोगले सल्लाको रुखमा अड्केकाले थप मानवीय क्षति भएन ।’
प्रकाशित मितिः २०७८ साउन १५ शुक्रबार
Comments