काठमाडौं । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो । खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए । तर, गोल गर्नु अघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन ।
तर, खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । डोमिनिको बेरार्डीको पासमा उनले गोल गरेका हुन् ।
त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले निकोलो बरेलाको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए । उनले राफेलको पासलाई सदुपयोग गरे । यस जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ ।
यससँगै समूह ए को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।
समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो । स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ०३ बिहिबार
Comments