काठमाडौं । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । उसले आइतबारको खेलमा सुदूरपश्चिममाथि ३७ रनको जित हात पारेको हो ।
एपिएफले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि कुनै पनि खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । उसका लागि सुनिता लोहारले सर्वाधिक २३ रन, डली भट्टले १६ र रेवती धामीले १२ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका विन्दु बुढामगरले ३, सीता रानामगर र सुमन विष्टले समान २–२, रेखा रावल र सुष्मा श्रेष्ठले १–१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।
एपिएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् । १७.१ ओभरमा कविता जोशीले रेवती धामीबाट क्याच गराउनुअघि उनले ५० बलमा ७ चौकाको मद्दतले ५९ रन बनाइन् ।
सरिता मगरले अविजित ३५, कप्तान सीता रानामगरले १७ र इन्दु वर्माले अविजित ४ रनको योगदान दिए । सुदूरपश्चिमका कविता जोशी र सुनिता लोहारले १–१ विकेट लिए ।
एपिएपले पहिलो खेलमा प्रदेश–१ लाई ८ र सुदूरपश्चिमले ललितपुर मेयर ११ लाई ७ विकेटले पराजित गरेका थिए ।
प्रकाशित मितिः २०७७ चैत्र २२ आइतबार
Comments