युवा पलायनको कथा बोकेको ‘पहाड’ : निर्देशक तुलसी घिमिरे
काठमाडौं । निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली हुँदै गएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन्।
आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको टिजर सार्वजनिक गर्दै उनले यसको कथाले पहाडी भेग मात्र नभई समग्र देशकै अवस्थालाई प्रतिबिम्बित गर्ने बताए। उनका अनुसार सुन्दर पहाडहरू युवाको पलायनसँगै बिस्तारै उजाडिँदै गएको यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको हो।
निर्देशक घिमिरेले चलचित्रले दर्शकसँगै घर, परिवार र समाजमा विचारको रुपमा पुग्ने विश्वास व्यक्त गरे।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ।
यसै चलचित्रमार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा दर्शकमाझ ल्याएका छन्।
