अमेरिका–इजरायल–इरान युद्धको असर: भारतमा एलपीजी ग्यास संकट, सिलिन्डरका लागि लामो लाइन
अमेरिका–इजरायल र इरानबीच जारी युद्धको असर छिमेकी देश भारतमा देखिन थालेको छ। युद्धका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि भारतका विभिन्न राज्यहरूमा एलपीजी ग्यासको अभाव भएको छ।
मध्य प्रदेश, उत्तर प्रदेश, पञ्जाब–चण्डीगढ, हरियाणा र राजस्थान लगायतका राज्यहरूमा बिहानैदेखि ग्यास एजेन्सी र गोदामबाहिर सिलिन्डर लिन मानिसहरूको लामो लाइन लागेको छ।
ग्यास अभावसँगै कालोबजारी पनि बढेको छ। सामान्यतया ९५० भारतीय रुपैयाँ पर्ने घरेलु ग्यास सिलिन्डर अहिले ३,५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। त्यस्तै २,००० रुपैयाँ पर्ने व्यावसायिक सिलिन्डरको मूल्य ५,००० रुपैयाँसम्म पुगेको छ।
पञ्जाब र चण्डीगढमा बिहान ४ः३० बजेदेखि नै मानिसहरू ग्यास किन्न लाइनमा बसेका भारतीय सञ्चारमाध्यम दैनिक भास्कर ले जनाएको छ। अमृतसर र जालन्धरका ग्यास एजेन्सीहरू बाहिर ठूलो भीड भएपछि प्रहरीले निगरानीमा सिलिन्डर वितरण गरिरहेको छ।
ग्यास अभाव बढ्दै जाँदा साना बालबालिका र वृद्धवृद्धासमेत घण्टौंसम्म लाइनमा बस्न बाध्य भएका छन्। चर्को घाममा आठ घण्टासम्म पर्खिँदा पनि धेरैले सिलिन्डर पाउन सकेका छैनन्।
यसबीच, भारतभर करिब ५० हजारभन्दा बढी होटल तथा रेस्टुरेन्टले पछिल्ला छ दिनदेखि व्यावसायिक ग्यास सिलिन्डर नपाएको बताइएको छ। ग्यास अभावका कारण होटल व्यवसायीहरूले मेनुको मूल्यसमेत बढाउन थालेका छन्।
भारतको पेट्रोलियम मन्त्रालयले प्राकृतिक ग्यास (पीएनजी) जडान भएका घरहरूलाई एलपीजी उपलब्ध नगराउने निर्णय गरेको जनाएको छ।
यस्तै, बढ्दो मागलाई नियन्त्रण गर्न सरकारले शहरहरूमा ग्यास सिलिन्डर बुकिङको ‘लक–इन’ अवधि २५ दिन पुर्याएको छ भने ग्रामीण क्षेत्रहरूमा बुकिङ अन्तर ४५ दिनको बनाइएको छ।
