भेनेजुएलाको अवस्था प्रति ओएचसीएचआरको गम्भीर चिन्ता, अमेरिकी सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन विपरीत

भक्तपुर न्यूज

२३ पुष २०८२ १५:१६

भेनेजुएलाको अवस्था प्रति ओएचसीएचआरको गम्भीर चिन्ता, अमेरिकी सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन विपरीत
संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई गिरफ्तार गरी देश निकाला गरिएको घटनालाई लिएर ओएचसीएचआरले आपत्ति जनाएको हो।
संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा अमेरिकी सैन्य कारबाही अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन भएको बताए।
उनले अमेरिकी सैन्य हस्तक्षेपले विश्वभरिका राज्यहरूलाई असुरक्षित महसुस गराएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको एकपक्षीय सैन्य कारबाहीबाट जवाफदेहिता स्थापित हुन नसक्ने स्पष्ट पारे।
शामदासानीका अनुसार भेनेजुएलाको भविष्य त्यहाँका जनताको आत्मनिर्णयको अधिकार, आफ्नो जीवन र स्रोतसाधनमाथिको सार्वभौमसत्ता तथा मानव अधिकारको पूर्ण सम्मानका आधारमा निर्धारण गरिनु आवश्यक छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको राजधानी काराकाससहित देशका प्रमुख स्थानहरूलाई लक्षित गरी ठूलो मात्रामा सैन्य आक्रमण गर्ने घोषणा गरेको जनाइएको छ। सो अपरेशनपछि राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी अमेरिकी अदालतमा मुद्दा चलाउन अमेरिकामा स्थानान्तरण गरिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय