दक्षिण अफ्रिकाको सामूहिक गोलीबारी प्रकरण : ११ संदिग्ध पक्राउ
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा गत आइतबार भएको सामूहिक गोलीबारी घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई पक्राउ गरिएको छ।
जोहानेसबर्ग नजिकैको बेकरस्डलस्थित एक भट्टी पसलमा स्थानीय समयअनुसार बिहान करिब १ बजे १२ जना अज्ञात बन्दुकधारीले ग्राहकहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए। घटनापछि फरार रहेका अन्य संदिग्धहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रान्तीय प्रहरी उपयुक्त मेजर जनरल फ्रेड केकानाका अनुसार पक्राउ परेका ११ संदिग्धमध्ये ९ जना लेसोथोका नागरिक छन् भने एक जना मोजाम्बिकका नागरिक हुन्। साथै, दक्षिण अफ्रिकी खानी कामदार भएको विश्वास गरिएका अर्का एक संदिग्धलाई पनि हिरासतमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानले उक्त आक्रमण अवैध खानीसँग जोडिएको ‘टर्फ युद्ध’ का कारण भएको हुनसक्ने संकेत गरेको छ। आक्रमणका क्रममा बन्दुकधारीहरूले पसलबाट भाग्न खोज्नेहरू र आसपासका व्यक्तिहरूमाथि समेत अन्धाधुन्ध गोली चलाएका थिए।
घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। साथै, घटनास्थल नजिकै एक यात्रुलाई झारेर फर्किंदै गरेका ट्याक्सी चालक पनि गोली लागेर मारिएका छन्।
पक्राउ परेकाहरूको साथबाट एके–४७ राइफलसहित लाइसेन्स नभएका कयौँ हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
दक्षिण अफ्रिकी बन्दुकधारी संघका गिदोन जुबर्टका अनुसार दक्षिण अफ्रिकामा करिब ३० लाख कानुनी रूपमा दर्ता भएका हतियार छन् भने करिब त्यति नै संख्यामा लाइसेन्सबिनाका हतियार रहेको अनुमान गरिएको छ। झगडा, डकैती र गिरोह हिंसाका कारण दक्षिण अफ्रिका विश्वमै सबैभन्दा बढी हत्याका घटना हुने मुलुकमध्ये एक मानिन्छ।
