अमेरिकामा विद्यालयभित्र गोलीकाण्ड : दुई बालबालिकाको मृत्यु, १७ घाइते
अमेरिकाको मिनियापोलिसस्थित एक क्याथोलिक धार्मिक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आक्रमणकारीले चर्चको झ्यालबाट प्रार्थना सभा (मास) मा सहभागी भएकामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। मारिएका दुई बालबालिकाको उमेर क्रमशः ८ र १० वर्षका रहेको छ। घाइतेमध्ये १४ जना बालबालिका रहेका छन्, जसको उपचार भइरहेको छ।
२३ वर्षीय आक्रमणकारी रोबिन वेस्टम्यानले आक्रमणपछि घटनास्थलमै आफूलाई गोली हानी आत्महत्या गरेका छन्। उनको कुनै महत्वपूर्ण आपराधिक इतिहास नभएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख ब्रायन ओ’हाराले घटनालाई “निर्दोष बालबालिका र पूजा गरिरहेका मानिसमाथि गरिएको योजनाबद्ध हिंसात्मक आक्रमण” भनेर वर्णन गरेका छन्।
दक्षिण मिनियापोलिसको आवासीय क्षेत्रमा रहेको एनाउन्सिएसन चर्चले विद्यालय पनि सञ्चालन गर्दै आएको थियो, जहाँ ५ देखि १४ वर्ष उमेरका विद्यार्थी अध्ययन गर्ने गर्छन्। आक्रमणकारीकी आमा मेरी ग्रेस वेस्टम्यान यसै विद्यालयमा कार्यरत रहिसकेकी थिइन्।
एफबीआईले आक्रमणकारीले अनलाइनमा सार्वजनिक गर्न राखेको नोट हटाएको जनाएको छ। मिनेसोटाका गभर्नर टिम वाल्जले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराएको र ट्रम्प प्रशासनले पीडितप्रति संवेदना प्रकट गरेको बताइएको छ। राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा अमेरिकी झण्डा आधा झुकाउने घोषणा गरेका छन्।
अमेरिकामा विद्यालयमा हुने गोलीकाण्ड वर्षेनी बढ्दै गइरहेको छ, जसका कारण सयौं बालबालिकाले ज्यान गुमाउने गरेका छन्।
