कप्तान सावित्रा भण्डारीलाई तनहुँमा सम्मान
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा विशेष सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ वडा व्यवस्थापन समिति–४ ले तीज गीत प्रतियोगिताको अवसरमा आयोजना गरेको कार्यक्रममा उनलाई नगद रु ५० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ र शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कप्तान भण्डारीलाई सम्मान गरेका थिए । नेपाललाई खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको योगदानको कदरस्वरूप सम्मान गरिएको समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिए।
समारोहमा कप्तान भण्डारीले गाउँमा दाजुहरूसँग मोजाको बल खेल्दै सुरु गरेको यात्राको स्मरण गर्दै भनिन्, “जहिले पनि गाली खान्थें, पिटाइ खान्थें । तर निरन्तर मेहनतकै कारण आज यहाँसम्म आइपुगेकी छु । जुन क्षेत्रमा भए पनि कडा परिश्रम गरे सफल भइन्छ भन्ने मेरो अनुभव छ।”
त्यस अवसरमा प्रदेशसभा सदस्य गुरुङले खेलकुदले नेपालीलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कप्तान भण्डारीले विश्वसामु नेपाललाई चिनाउन गरेको योगदानलाई सराहना गरिन्।
