राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानविपरीत : अध्यक्ष नेपाल

भक्तपुर न्यूज

२४ साउन २०८२ ६:०८

राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानविपरीत : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि संविधानविपरीत रहेकाले विरोध जनाएको बताएका छन्।

नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको आज शुक्रबार प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्यांकन दलहरूको आन्तरिक विषय भएकाले आयोगको स्वमूल्याङ्कन कार्यविधि अस्वीकार्य भएको पनि उल्लेख गरे । उनले स्वमूल्याङ्कन कार्यविधिको प्रतिपक्षी दलहरुले विरोध जनाएपछि एमाले र कांग्रेसले समेत विरोध गरेको बताए।

बेग्लै प्रसंगमा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै १६ वर्षमै सन्तान जन्माए पुरस्कार दिन सक्ने व्यङग्य गरे । उनले १६ वर्षमा बिहे गरे ओली झन् खुसी हुन सक्ने बताए । अध्यक्ष नेपालले भने, “अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान् । पुरस्कार दिन बेर छैन । तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन् ।”

यसैगरी नेपालले पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललक्षित फेरि अर्को टिप्पणी गरे । एमाले फुटाउनुको औचित्य पुष्टि नभएको खनालको भनाइ लक्षित गर्दै नेपालले भने, ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो विद्रोह ठीक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !’

नेपालले थपे, ‘ हामीले ठिक गर्‍यौं, आँट गर्‍यौं । र, पहिलो गाँसमा ढुंगो हैन, सुनको सिक्का पायौं । संविधान मिच्ने, उल्लंघन गर्ने गलत परम्परा बसाल्ने काम भइरहेको थियो । यसको विरुद्ध विद्रोह गर्‍यौं, खुलेआम सडकमा आयौं, अदालत पनि गयौं, मुद्दा पनि दियौं राजनीतिक लडाइँ पनि लड्यौं । सबै लडाइँमा जित्यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय