टिम डेभिडको कीर्तिमानी शतकसँगै अस्ट्रेलियाको तेस्रो जित, सिरिज कब्जा
काठमाडौं । टिम डेभिडको विस्फोटक शतकको मद्दतमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा लगातार तेस्रो जित निकाल्दै शृंखला दुई खेल अगावै आफ्नो पक्षमा पारेको छ।
वेस्ट इन्डिजले दिएको २१५ रनको चुनौतीपूर्ण लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। अस्ट्रेलियाका लागि टिम डेभिडले अविजित १०२ रन बनाए, जसका लागि उनले केवल ३७ बलको सामना गरे। उनको इनिङमा ६ चौका र ११ छक्का समावेश थिए। मिचेल ओवेन १६ बलमा ३६ रनमा नटआउट रहे।
डेभिडले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो अर्धशतक (१६ बल) र शतक (३७ बल) बनाउने कीर्तिमान कायम गरे। ३७ बलको यो शतक आईसीसीका पूर्ण सदस्य राष्ट्रहरूबीच तेस्रो छिटो शतक हो। साथै, उनले दुई फरक देश (सिंगापुर र अस्ट्रेलिया)का लागि सबैभन्दा छिटो अर्धशतक बनाउने दुर्लभ कीर्तिमान पनि बनाएका छन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो। कप्तान शाइ होपले ५७ बलमा अविजित १०२ रन बनाउँदै टोलीलाई उच्च स्कोरमा पुर्याएका थिए। ब्रान्डन किङले ६२ रन बनाए।
अस्ट्रेलियाका नेथन एलिस, एडम जाम्पा र मिचेल ओवेनले समान १-१ विकेट लिए।
पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा ८ विकेटले विजयी बनेको अस्ट्रेलियाले तेस्रो जितसँगै पाँच खेलको शृंखलामा ३-० को अग्रता बनाउँदै सिरिज कब्जा गरिसकेको छ।
