दिल्ली विमानस्थलबाट कुवेत जान लागेका ४७ नेपाली महिला स्वदेश फर्काइए

भक्तपुर न्यूज

९ साउन २०८२ ७:१२

दिल्ली विमानस्थलबाट कुवेत जान लागेका ४७ नेपाली महिला स्वदेश फर्काइए

काठमाडौं  । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला स्वदेश फर्काइएको छ।

नेपाली दूतावासको समन्वयमा एनओसी (अनिवार्य स्वीकृति पत्र) नलिई कुवेत जान लागेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल नेतृत्वको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति सुनौली नाका पार गरेर रूपन्देही पुर्‍याएको हो।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीको निगरानीमा काठमाडौं ल्याइँदैछ। प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई वैदेशिक रोजगारीका नाममा भिजिट भिसामा पठाउन खोजिएको आशंका गरिएको छ।

यस घटनालाई गम्भीर रूपमा लिँदै गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनसम्बन्धी ब्यूरोलाई कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयले दिएको जानकारीअनुसार दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ।

मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा पठाउने गिरोहमाथि गहिरो छानबिन गर्नसमेत निर्देशन दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय