शोभा बिजुक्छेंप्रति एक मौन श्रद्धाञ्जली,‘Letter from Jail’ को अंग्रेजी संस्करण विमोचन

भक्तपुर न्यूज

२ साउन २०८२ १८:०४

शोभा बिजुक्छेंप्रति एक मौन श्रद्धाञ्जली,‘Letter from Jail’ को अंग्रेजी संस्करण विमोचन

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जेल जीवनका कठिन दिनहरूमा आफ्नी धर्मपत्नी शोभा बिजुक्छेंलाई लेखेका चिठीहरूको सङ्ग्रह ‘Letter from Jail’ को अंग्रेजी संस्करण आज सार्वजनिक गरिएको छ।

पुस्तकमा समेटिएका चिठीहरू सन् १९८८ देखि १९९० सम्मको अवधिमा लेखिएका हुन्, जब विजुक्छें राजनीतिक कारणले जेलमा थिए। ती पत्रहरू केवल वैयक्तिक प्रेमको अभिव्यक्ति  मात्र नभएर,  ती समय, समाज, दर्शन, राजनीति र देशकाे सांस्कृतिक चेतनाका दस्तावेज हुन्।

विशेष कुरो के छ भने, यो अंग्रेजी संस्करण ठीक तीन वर्षअघि असार महिनामै दिवंगत भएकी शोभा बिजुक्छेको सम्झनामा, उनीप्रति एक मौन श्रद्धाञ्जलीस्वरूप प्रकाशित गरिएको छ।

बालविकास सेकेन्डरी स्कुलको आयोजनामा गरिएकाे उक्त कार्यक्रममा प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाई र श्रृजना सैजु, वरिष्ठ साहित्यकार नरेन्द्र प्रसाईं, कवयित्री इन्दिरा प्रसाईं, अनुवादक अनुराज जोशी र समालोचक अभय श्रेष्ठलगायतले पुस्तकको समालोचना प्रस्तुत गरेका थिए । वक्ताहरूले  भने, पुस्तकले न केवल एक राजनीतिक कार्यकर्ताको संघर्ष प्रस्तुत गर्छ, बरु एक जीवनसाथीप्रतिको अथाह समर्पण, माया र संवेदनालाई पनि छरितो भाषामा उजागर गर्छ। समाज, परिवार , देश र राजनीतिक जीवनमा जेल भित्रकाे माैन वातावरणमा लेखिएका चिठीहरूकाे संगालाेले विगत , वर्तमान र भबिष्यमा पुस्तक अध्ययन गर्नेहरूकालागि सकरात्मक उर्जा प्रदान गर्ने  वक्ताहरूकाे टिप्पणी थियाे ।

समालोचक अभय श्रेष्ठले भने, “Letter from Jail प्रेम र प्रतिबद्धताको साझा दस्तावेज हो, जहाँ प्रेम पत्रहरू पनि एकप्रकारको राजनीतिक प्रतिरोध बन्छन्।”

विजुक्छेंले कारागारको अँध्यारो कोठामा लेखेका ती चिठीहरू आज अन्तर्राष्ट्रिय पाठकमाझ पुग्ने अवसर पाउनु र त्यो पनि आफ्नी जीवनसाथीको निधनको सम्झनासँग मेल खाने समयमा हुनु, संयोगमात्र होइन, गहिरो भावनात्मक सन्देश हो।

ती चिठीहरू अब कागजमा मात्र होइन, एक युगको भावनात्मक विरासतका रूपमा रहन पुगेका छन् , शोभा बिजुक्छेप्रति निखरिएको सम्मान, शब्दमा बाँधिएको समर्पण।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय