२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बाढीले त्रिशूली करिडोरका मात्रै करिव ६–७ वटा प्लान्ट बन्द हुने अवस्थामा पुगेको बताएका छन् । शाक्यकाअनुसार चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यसअन्तर्गतका जलविद्युत आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
आफ्नो सय दिने कार्यकालको उपलब्धिबारे सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बढी क्षति पुर्याएको र बाँधको एउटा गेट बगाएर ड्याममा समेत क्षति पुगेको बताए। त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएको उनले बताए ।
बाढीले त्रिशूली करिडोरका आयोजनाहरूमा असर पारेको बताए । उनकाअनुसार बाढीले प्रत्यक्ष असर पारेका आयोजनामा रसुवागढी, चिलिमे र त्रिशूली थ्री ए रहेका छन् । त्रिशूली करिडोरका मात्रै करिव ६–७ वटा प्लान्ट बन्द अवस्थामा पुगेका छन् ।
शाक्यका अनुसार बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ । उनले ठूलो क्षमताका आयोजना बन्द भएपनि देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारे ।