संसदमा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताएका छन् ।
कांग्रेसका दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृति दिवसको अवसरमा बिहिबार धनुषाको धनुषाधाममा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गरे । सभापति देउवाले संविधानसम्मत ढङ्गले बनेको सरकारलाई कमजोर पार्ने प्रयास अनुचित भएको भन्दै गठबन्धन स्थायित्वको बाटोमा अघि बढिरहेको बताए । पछिल्ला दिनमा प्रतिनिधिसभामा देखिएको अवरोधप्रति विरोध जनाउँदै उनले भने। “गठबन्धन सरकार संविधानअनुसार नै बनेको हो ।”
आर्थिक वर्ष २०८२–८३ को बजेटबारे सभापति देउवाले सरकारले ल्याएको बजेट सन्तुलित, समावेशी र उत्पादनमुखी रहेको बताए । समग्र आर्थिक विकासमा बजेटले योगदान गर्ने उनले विश्वास व्यक्त गरे । “बजेटले विकास, रोजगारी र समावेशी योजनालाई प्राथमिकता दिएको छ,” उनले भने ।