पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
काठमाडौं । पेरिस सेन्ट-जर्मेन (PSG) ले क्लब इतिहासमै पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ।
प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा रहेको टोलीले इटालियन क्लब इन्टर मिलानलाई एकतर्फी प्रदर्शन गर्दै ५-० को सानदार जित दिंदै ट्रेबल (घरेलु लिग, घरेलु कप र युरोपियन च्याम्पियन्स लिग) को उपलब्धि पूरा गरेको हो।
खेलको १२औं मिनेटमै हाकिमीले डुओको क्रसलाई गोलमा परिणत गर्दै पीएसजीलाई अग्रता दिलाए।
त्यसको आठ मिनेट पछि युवा खेलाडी डुओको प्रहार इन्टरका खेलाडीबाट डिफ्लेक्ट भई गोल बन्यो।
पीएसजीले सुरुआतदेखि नै आक्रमणकारी शैली अपनाए पनि इन्टरले भने खेलमा फर्किने प्रयास खासै गर्न सकेन। दोस्रो हाफमा पनि पीएसजीको लय जारी रह्यो।
६३औं मिनेटमा डुओले अर्को गोल गर्दै टिमको तेस्रो गोल पूरा गरे। ७३औं मिनेटमा क्वारात्स्खेलियाले इन्करको डिफेन्सलाई चिर्दै कीपर सोमरलाई बिट गर्दै व्यक्तिगत गोल गरे।
खेल सकिन चार मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी मायुले उत्कृष्ट टिमवर्कबाट गोल गर्दै पीएसजीको जितमा पाँचौं गोल थपे। यो जितसँगै पीएसजीले फ्रेन्च लिग, फ्रेन्च कप र च्याम्पियन्स लिग जित्दै ऐतिहासिक ट्रेबल पूरा गरेको छ।
यद्यपि सिजन अझै बाँकी छ, पीएसजीले अब क्लब विश्वकप खेल्नुपर्नेछ, पहिलो खेल एट्लेटिको म्याड्रिडसँग खेल्नेछन्।
इन्टरका लागि भने यो सिजन निराशाजनक रह्यो। केही हप्ता अगाडि ट्रेबलको दौडमा रहेको टोली अन्ततः तीनवटै उपाधिबाट बाहिरिएको छ।