गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
काठमाडौं । गाजामा चलिरहेको युद्धका कारण केवल ५ प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० ले जनाएको छ । यो अवस्थाले गाजाका बासिन्दामा खाद्य सङ्कट र भोकमरीको जोखिमलाई थप गम्भीर बनाएको छ ।
इजरायलले हमासविरुद्ध गाजामा सैन्य कारबाही तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय समुदायले यो कारबाहीको आलोचना गरिरहेको छ । झण्डै तीन महिनाको नाकाबन्दीपछि केही राहत सामग्री प्रवेश गर्न थाले पनि खाद्य र औषधिको कमी कायम छ ।
एफएओको हालैको विश्लेषणअनुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी कृषि क्षेत्र क्षतिग्रस्त भएको छ भने ७८ प्रतिशत क्षेत्रमा पहुँच नै छैन । हाल केवल ४।६ प्रतिशत खेतीयोग्य क्षेत्र प्रयोग गर्न सकिने अवस्थामा छ ।
एफएओका अनुसार खेतीका लागि जम्मा ६८८ हेक्टर ९लगभग १ हजार ७०० एकड० भूमि मात्र बाँकी छ । दक्षिण गाजाको राफा र केही उत्तरी क्षेत्रमा अवस्था निकै गम्भीर छ, जहाँ अधिकांश कृषि भूमि प्रयोग गर्न नसकिने भएको छ ।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले भने, ‘खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोतहरू नष्ट भएपछि गाजामा स्थानीय उत्पादन पूर्ण रूपमा ठप्प भएको छ।’ युद्धअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र लगभग ५ लाख ६० हजार मानिस खेती, पशुपालन वा माछापालनमा आश्रित थिए ।
हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ मा युद्धविराम टुटेपछि हालसम्म कम्तीमा ३ हजार ७८५ जनाको मृत्यु भएको छ । कुल युद्ध पीडितको सङ्ख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण छन् ।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो सर्वसाधारण थिए । उक्त आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो, जसमध्ये हाल ५७ जना गाजामा छन् । इजरायली सेनाका अनुसार तीमध्ये ३४ जनाको मृत्यु भइसकेको छ । एजेन्सी