संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने

भक्तपुर न्यूज

९ जेठ २०८२ १२:२५

संसदीय छानविन प्रतिवेदन अख्तियारमा पठाइने

काठमाडौं ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको आजको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाउने निर्णय गरेको हो ।

उपसमितिले प्रतिवेदनसहित लेखा समितिले कारबाहीका लागि निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनु भएको छ । राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो ।

उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो । तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन उपसमितिले सिफारिस गरेको थियो । उक्त प्रतिवदनसहित लेखा समितिले अख्तियारमा अनुसन्धान र कारबाहीका लागि लेखिपठाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *