रविको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको आजको सुनुवाई स्थगित भएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । तर आज न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रवि लामिछानेसहितको मुद्दाको सुनवाइ हुन नसकेको हो ।
हिजो मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट र उच्च अदालतको आदेशविरुद्ध ७३ नम्बरको निवेदनमा सुनुवाइ सुरु भएको थियो ।
लामिछाने जोडिएको सहकारी प्रकरणमा थुनामै रहेको पूर्वडिआइजी छविलाल जोशीको ७३ नम्बरको निवेदन पनि सँगै राखेर हेरिएको छ । मंगलबार बहस नसकिएपछि उक्त निवेदन र रिट हेर्दाहेर्दैमा राखिएको थियो । मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।