सिंहदरबारमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण
काठमाडौं । सिंहदरबारमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । सिंहदरबारमा सोमबार आयोजित एक कार्यक्रमबिच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी पिएर वितरण कार्यको शुभारम्भ गरे ।
मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए । उनले सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पु-याउनका लागि पाइप लाइनको विस्तार गर्न मन्त्रालयको तयारी रहेको जानकारी दिए ।
सिंहदरबारमा मेलम्चीको पानी वितरण शुभारम्भको पहललाई सुशासन, पारदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको मूर्त रूपका रूपमा व्याख्या गर्दै मन्त्री यादवले भने, “यो केवल सुरुवात मात्र होइन, प्रशासनिक क्षेत्रमा पारदर्शी, दिगो र सस्तो खानेपानी वितरण प्रणालीको उदाहरणीय अभ्यास पनि हो ।”
थप पाइप विस्तार सुरु
सरकारले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने क्रममा अहिलेसम्म खानेपानीको पाइप पुग्न नसकेको क्षेत्रमा खानेपानी पाइप विस्तार सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जानकारी गराएको छ ।
निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले उपत्यकामा खानेपानी पाइप विस्तार गर्ने योजना अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङ्ली, लाजिम्पाट, बेलकोट, शिवपुरी, खोकना तथा नागार्जुन नगरपालिका अन्तर्गतको वडा नम्बर १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेवलगायतका क्षेत्रमा पानी वितरण प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
उनले भने, “यी क्षेत्रमा खानेपानीको सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान गरिएको छ । वैशाख ३१ गते बोलपत्र आह्वान गरिएको थियो । यी क्षेत्रमा तीन हजार ८११ मिटर खानेपानी पाइप विस्तार गर्न लागिएको हो । यस क्षेत्रमा पानी वितरण सञ्जाल विस्तारसँगै काठमाडौँ उपत्यकामा प्रतिदिन मेलम्ची खानेपानी योजनाको २७० मिलियन लिटर वितरण हुने छ ।”
यसअघि निर्देशनालयले चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण प्रक्रिया सुरु गरिसकेको छ । चक्रपथबाहिर ८७५.४ किलोमिटर प्लास्टिक (पिई) पाइप र ४६.४८ किलोमिटर फलामको (डिआई) पाइप बिच्छ्याउन लागिएको हो ।