पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । आज देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू–भाग लगायत देशका पहाडी भूभागका पनि धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।