रुसी सेनामा नेपाली भर्ना नगर्न प्रधानमन्त्री ओलीको आग्रह

भक्तपुर न्यूज

२ जेठ २०८२ १८:००

रुसी सेनामा नेपाली भर्ना नगर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत् सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’ मा काल्मिकियामा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे ।

जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगराइने विश्वास दिलाए । भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *