सूर्यविनायक नगरवासीका लागि पनि मेलम्चीको पानी

भक्तपुर न्यूज

१ जेठ २०८२ १०:५२

सूर्यविनायक नगरवासीका लागि पनि मेलम्चीको पानी

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरवासीका लागि पनि मेलम्चीको पानी वितरण गर्न थालिएको छ ।  बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले हिजो मंगलबार सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको ट्यांकीबाट लिफ्टिङ सिस्टमबाट सुवर्णेश्वर खानेपानी ट्यांकीमा पानी खसालेर वितरण कार्यको शुभारम्भ गरे ।

हाललाई सूनपाको वडा नं. २ देखि ६ सम्म ामत्र मेलम्चीको पानी वितरण गएिको छ । सो अवसरमा मन्त्री थापाले सूनपाका नगरवासी मात्रै होइन, सबै जिल्लावासीलाई नै शुद्ध पिउनेपानी वितरण गर्न बागमती प्रदेश सरकारका तर्फबाट आफू लागिपरेको बताए । निकै कठिनाई र चुनौतीका बाबजुद पनि सूर्यविनायक नगरवासीलाई मेलम्चीको पानी खुवाउन सफल भएको नगरप्रमुख वासुदेव थापाले बताए । नगरवासीलाई खानेपानीको पहुँचमा पुर्‍याउन ८ करोड बजेट विनियोजन गरी वृहतर खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको जानकारी दिंदै प्रमुख थापाले अब निरन्तर पानी आइरहने बताए ।

खानेपानीको अभावलाई कम गर्न पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति भएको हो । दैनिक ३५ लाख लिटर पानी वितरण हुने भन्दै आयोजना संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाले वाचा गरेअनुसार आयोजना सफल भएको बताइन् ।

नगर प्रवक्ता रविन्द्र सापकोटाले दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले सूनपाका बाँकी वडामा पनि छिट्टै पानी वितरण गरिने बताए । हालसम्म १० हजार ९ सय ७० मिटर पाइपलाइन विस्तार गर्ने कार्य सम्पन्न भएको र अब वडा नं. १ सिरुटारमा २ देखि ३ किलोमिटर पाइपलाइन विस्तार गरिने पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेले जानकारी दिए ।

सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणवाराही, शिकारीटार, घट्टेखोलालगायतका ट्यांकीमा पठाइएको पानीको परीक्षण सफल भएपछि मेलम्ची खानेपानी वितरण कार्यको औपचारिक रूपमा शुभारम्भ गरिएको हो । कार्यक्रममा केयूकेएल भक्तपुर प्रमुख अनिल त्रिखत्री, वरिष्ठ इन्जिनियर कृष्णहरि बुढाथोकी, निर्माण व्यवसायी, वडाध्यक्षलगायत जनप्रतिनिधि र स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *