सरकार अहिले आफैँभित्रबाट एक्लिएको अवस्था : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको मनमतिष्कमा सरकार ढलिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारी नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदैै उनले भने, “प्राविधिकरूपमा त सरकार अहिले ढलेको छैन । जनताका मनमा, म अहिले देशभरि घुमेर पनि आएको छु, मुख्यतः तराई–मधेसमा । जनताको मन मस्तिष्कमा यतिबेला नैतिकरूपमा भन्ने हो भने सरकार छैन, सरकार ढलिसकेको छ ।”
“प्राविधिकरूपमा त सरकार बलियो छ । सरकारको कार्यशैलीले जन्माएको असन्तुष्टिलाई प्रतिगमनतिर प्रतिक्रियावादीले लैजाने जमर्को गरेको देख्दै छौँ”, उनले भने ।
उनले भने, ‘दुई तिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैँभित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि परम्परा धान्न र औपचारिकता पूरा गर्न मात्र आएको देखिन्छ । यसले अर्थतन्त्रका सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सम्बोधन गर्न सकेको छैन । नीति तथा कार्यक्रमले राष्ट्रको महत्वका महत्वपूर्ण पक्षहरूलाई बिर्सिएको छ । नीतिगत मार्ग निर्देशनका रुपमा नीति तथा कार्यक्रमको सुरुवातमा उल्लेख भएका क देखि ट सम्मका विषयहरूमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका कृषि, पर्यटन, जलस्रोत वन जस्ता क्षेत्रहरू तथा सामाजिक न्यायका मुद्दाहरू प्राथमिकतामा पर्न सकेका छैनन् ।’
उनले भने, ‘नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान सङ्कटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ । यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ ।’
उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर सङ्केत भएको बताए । ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’ उनले स्पष्ट गरे ।